काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सामान्यभन्दा केही उत्तरमा रहेको छ। यसको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानहरूमा वर्षा भइरहेको छ।
बागमती प्रदेशका केही स्थानहरूमा, साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
दिउँसोको अवस्था:
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने सम्भावना पनि छ।
रातिको पूर्वानुमान:
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्नेछ।
सावधानी अपनाउन आग्रह:
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले उल्लेख गरेको छ। यस्ता जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।

