Advertisement

भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

Advertisement

काठमाण्डाै– जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवाकाे नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवाकाे क्यान्जिङ मौसमी केन्द्र र धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिनुभयो ।

‘त्यति ठूलो बाढी नै जाने गरी दुवैतर्फ ठूलो वर्षा भएकै छैन । न्यून चापीय रेखा पनि सरदर आसपासमा नै रहेको छ’, उहाँले भन्नुभयो, ‘के कारणले बाढी गएको भन्ने विषयमा थप अनुसन्धान गरेर मात्रै हामी सूचना सार्वजनिक गर्नेछौँ ।’

विश्व मौसम सङ्गठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको प्राविधिक प्रणाली ‘फ्ल्यास फ्लड गाइडेन्स प्रणाली’ को स्याटेलाइट–आधारित वर्षा अनुमान अनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गएकाे २४ घण्टामा वर्षा भएको देखिँदैन ।

हिमताल फुटेको आशङ्का

विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन या नेपालको क्षेत्रमा पर्ने कुनै पनि हिमताल एक्कासी फुटेर बाढी गएको हुनसक्ने आशङ्का गर्नुभएको छ । ‘ठूलो वर्षा नहुँदा पनि बाढी जानु भनेको हिमताल कतै फुटेको पनि हुनसक्छ’, उहाँले भन्नुभयो, ‘अहिल्यै नै कारण यकिन गर्न त सक्दैनौँ तर कारण खोजिरहेका छाैँ । थप अध्ययन गरेर हामी दुई–तीन दिनभित्रै सत्य/तथ्य विवरण सार्वजनिक गर्नेछौँ ।’

प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार आज भोटेकोशी बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । महाशाखाका अनुसार आज बिहान ३ बजे आसपास भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासी ठूलो बाढी प्रवेश गरेको देखिन्छ ।

‘रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेकाे जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्याङ्क अनुसार बिहान ३ बजेर १० मिनेटमा त्यहँ जलसतह एक्कासी झन्डै ३.५ मिटर बढेको देखिन्छ’, महाशाखाका बाढीविद् पराजुलीले भन्नुभयो, ‘रसुवागढी नाकाबाट झन्डै १३ किलोमिटर तल विभागको रसुवामा रहेकाे स्याफ्रुबेँसी स्वचालित जलमापन केन्द्रमा बिहान ३ बजेर ३० मिनेटमा एक्कासी बहाव बढेको देखिन्छ । त्याे केन्द्रमा बिहान ३ बजेर ३० मिनेटमा ३.६५ मिटर रहेको जलसतह एक्कासी ३ बजेर ४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको देखिन्छ । त्याे केन्द्रका गेजरिडरसँग बिहान ६ बजे आसपास सम्पर्क कायम भएको र उनका अनुसार केन्द्र बगाएको जानकारी प्राप्त भएको छ ।’

रसुवागढी नाकाबाट झन्डै ४१ किलोमिटर तल यस विभागको नुवाकोटमा रहेकाे त्रिशूली बेत्रावती स्वचालित जलमापन केन्द्रमा आज बिहान ५ बजे बहाव बढेकाे प्रतिवेदनमा उल्लेख छ ।

‘त्याे केन्द्रमा बिहान ५ बजे १.६० मिटर (बहाव झन्डै २२० घनमिटर प्रतिसेकेन्ड) रहेको जलसतह एक्कासी बिहान ५ बजेर १० मिनेटमा ३.६३ मिटर पुगेको र उच्चतम जलसतह बिहान ५ बजेर ५० मिनेटमा ४.१८ मिटर (बहाव झन्डै १ हजार ६०० घनमिटर प्रतिसेकेन्ड) पुगेको देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ, ‘प्रारम्भिक रूपमा बाढीको ठूलो प्रभाव भोटेकोशी तथा त्रिशूली नदीको रसुवाको क्षेत्रमा परेको र मध्यम प्रभाव नुवाकोटको त्रिशूली नदी तटीय क्षेत्रमा परेको तथा सामान्य प्रभाव धादिङको बूढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकाले ३ वटै जिल्लाका नदी तटीय क्षेत्रमा आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएकाले बिहान साढे ६ बजे सरोकारवाला तथा नदी तटीय क्षेत्रका आम सर्वसाधारणलाई एसएमएसमार्फत सूचना जारी गरिएको थियो ।’

बाढीविद् पराजुलीले नुवाकोट जिल्लामा रहेकाे त्रिशूली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले त्रिशूली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बस्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गर्नुभएको छ ।

विभागले भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आँकलनका लागि आज बिहान ७ बजे एशिया–प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको अन्तरिक्ष–आधारित आपत्कालीन प्रतिक्रिया (सेन्टिनल एशिया) प्लेटफर्ममा तत्कालको भू–उपग्रह तस्वीर प्राप्त गर्न आपत्कालीन अवलोकन अनुरोध जारी गरेको छ ।

जोखिम अझै कायमै

बाढीविद् पराजुलीले विभागले निरन्तर अनुगमन गरिरहेको र अहिले बहाव घट्दो क्रममा रहे पनि जोखिम कायम रहेको भन्दै भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका आमसर्वसाधारण तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।

‘रसुवामा रहेकाे भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र अहिले घट्दो क्रममा रहेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदीको रसुवागढीदेखि धादिङको बेनिघाटसम्म त्रिशूली नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाइराख्न अनुरोध गर्दछौँ’, उहाँले भन्नुभयो, ‘यस सम्बन्धमा विभागबाट थप अध्ययन भइरहेकाले निरन्तर अपडेट जारी हुँदै जानेछ ।’

आउँदाे ३ दिन बाढीको जोखिम छैन : विज्ञ
आउँदाे ३ दिनसम्म बाढीको कुनै जोखिम नरहेको विभागका बाढी विज्ञ र मौसमविज्ञहरूले जानकारी दिएका छन् । मौसमविद् सञ्जीव अधिकारीले आउँदाे ३ दिनसम्म देशकाे धेरैजसाे ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहे पनि भारीदेखि अति भारी वर्षाको सम्भावना नरहेको जानकारी दिनुभयो । बाढीविद् विनाेद पराजुलीले ३ दिनसम्म देशभर बाढीको जोखिम नरहेको बताउनुभयो ।

अझै १८ जाना बेपत्ता

रसुवाकाे नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत ३ प्रहरी र ६ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएका जानकारी दिनुभयो ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नगरपालिका–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् ।

बाढीमा परी बेपत्ता हुने चिनियाँ नागरिक सबै पुरुष हुन् । चिनियाँ नागरिकको विस्तृत पहिचान खुल्न बाँकी छ । बाढीमै परी बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू र ३० वर्षीय सुरेश थारू तथा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, जीप चालक गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता भएका छन् ।

बाढीले उत्तरगया गाउँपालिका–१ मैलुङकाे गल्छी बेत्रावती–स्याफ्रुबेँसी सडक खण्ड अन्तर्गत त्रिशूली नदीमा रहेको बेलिब्रिज बगाएको छ । त्याे ठाउँ नजिकै भर्खर निर्माण भएको पक्की पुलमा बाढीसहित लेदो माटो जम्मा भएको छ । त्रिशूली थ्री–ए जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति पुगेको छ । रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज