संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु सम्बन्धी निकायले हाल देखिएको अत्यधिक गर्मीको अवस्था अझै तीव्र हुन सक्ने चेतावनी दिएको छ। यस्तो तापीय लहर (हीट वेभ) बाट जोगिन र सामना गर्न विश्व समुदायलाई तयार रहन सुझाव दिइएको छ।
विश्व मौसम सङ्गठन (WMO) का प्रवक्ता क्लेर नलिसका अनुसार, उत्तर गोलार्द्धमा जुलाई महिनातिर सामान्यतया गर्मी बढ्ने गर्दछ। तर यसपटक गर्मीयामको सुरुमै तीव्र तापक्रम देखिनु असाधारण भएको उहाँले बताउनुभयो।
उहाँका अनुसार अत्यधिक गर्मी एक “शान्त तर घातक” प्रकोप हो, जसले आँधीबेहरी वा भीषण वर्षाजस्ता अन्य प्राकृतिक विपद्कै जस्तो मानवीय क्षति पुर्याउन सक्छ।
पश्चिम युरोपमा उच्च दबाब र अफ्रिकाबाट तातो हावा
पश्चिमी युरोप हाल उच्च वायुमण्डलीय दबाबको प्रभावमा परेको छ। यसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई क्षेत्रमै थुनेको अवस्था सिर्जना भएको छ, जसले मानव स्वास्थ्य र दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको प्रवक्ता नलिसले जानकारी दिनुभयो।
समुद्री तापक्रमको वृद्धिले गर्मी थपिएको
भू–मध्यसागर क्षेत्रमा समुद्री सतहको तापक्रम अत्यधिक बढिरहेको छ। यसको असर जमिनमा समेत परिरहेको छ, जसले गर्मीको लहरलाई थप तीव्र बनाइरहेको छ।
सहरहरूमा प्रभाव अझ बढी
शहरका पक्की संरचनाहरूले ताप सोस्ने क्षमता कम हुने र हरियालीको अभाव रहने भएकाले शहरी क्षेत्रमा गर्मीको प्रभाव ग्रामीण क्षेत्रभन्दा अझ बढी हुने विज्ञहरूले बताएका छन्।

