उत्तमकुमार थापा, बझाङ
बझाङ जिल्लाको चैनपुरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अभिभावक र शिक्षकबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा शैक्षिक बहस, विद्यालयको गतिविधि, विद्यार्थी सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा खुला छलफल गरिएको थियो।
सुदूरपश्चिम प्रदेशको नमुना विद्यालयको रूपमा परिचित यस विद्यालयले गुणस्तरीय शिक्षामा निरन्तर सुधार गरिरहेको छ। सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको समयमा पनि बालमन्दिर आधारभूत विद्यालयमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
जयपृथ्वी नगरपालिकामात्र होइन, जिल्ला स्तरीय शैक्षिक उपलब्धिमा समेत अग्रणी रहेको विद्यालयले स्थानीय सरकारद्वारा लिइएको परीक्षामा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएको हो।
विद्यालयका शिक्षकहरू अनुशासनमा विशेष ध्यान दिने गरेका छन्। समयमै विद्यालय नआएका विद्यार्थीलाई विद्यालय प्रवेश गर्न नदिइ फर्काउने प्रचलन समेत छ।
विद्यालयका प्रधानाध्यापक टेकबहादुर सिंहका अनुसार, “भूकम्पका कारण विद्यालयको भवन भत्किएपछि विद्यार्थी बस्ने स्थान अभाव हुँदा शिक्षणमा केही कठिनाइ भोगिएको छ।”
उनले समाजसेवी दलबहादुर बिष्ट कृष्णप्रति कृतज्ञता व्यक्त गर्दै भने, “हाम्रो विद्यालयका पहिलो भगवान बिष्ट कृष्ण नै हुन्। उहाँले विद्यालयलाई ५ रोपनीभन्दा बढी जग्गा निःशुल्क रूपमा केही समयका लागि पठनपाठनको सहयोगस्वरूप उपलब्ध गराउनु भएको छ।”
बिष्टले यसअघि पनि सत्यवादी माध्यमिक विद्यालयलाई जनप्रतिनिधि हुँदा १५ लाख रुपैयाँ सहयोग गरेका थिए।
कार्यक्रमको अन्तरक्रिया सत्रमा धेरै अभिभावकले शिक्षकहरूलाई प्रश्न गर्न नसकेको तथा अभिभावकको भूमिका अझ सक्रिय हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर बिष्ट कृष्णको अध्यक्षता, जयपृथ्वी नगरपालिका वडा नं. १० का अध्यक्ष पुष्प सिंहको प्रमुख आतिथ्यता, वडा नं. ११ का अध्यक्ष तथा युवा नेता सर्जन थापाको विशिष्ट आतिथ्यता रहेको थियो।
वडा अध्यक्ष थापाले बालमन्दिर विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गर्नुपर्नेमा जोड दिँदै आफू पूर्ण समर्थन रहने बताएका थिए।
कार्यक्रमको सञ्चालन शिक्षक केशव जोशीले गरेका थिए। कार्यक्रममा एघार सदस्यीय नयाँ अभिभावक समिति समेत गठन गरिएको छ।

