कञ्चनपुर- रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याइएका ५८ नेपाली युवालाई भारतीय प्रहरी, नेपाल प्रहरी, नागरिक संस्था र नेपाली दूतावासको सहकार्यमा बुधबार उद्धार गरिएको छ।
उनीहरू उत्तराखण्डको रुद्रपुरमा २३ र कासिपुरमा ३५ जना गरी छुट्टाछुट्टै स्थानमा बन्धक बनाइएका थिए। घर–घरमा राखेर जबर्जस्ती थुनेको सूचना पाएपछि दूतावास र सुरक्षाकर्मीको टोलीले उनीहरूको उद्धार गरी गड्डाचौकी नाकाबाट नेपाल ल्याएको हो।
कञ्चनपुर नाकामा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र डीआईजी डम्बरबहादुर विश्वकर्माले उनीहरूलाई स्वागत गरे। सुदूरपश्चिमका युवालाई घर पठाउने व्यवस्था गरिएको छ भने अन्यलाई अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ।
उद्धार गरिएका युवामध्ये कैलाली र डोटीका ११ जना छन् भने बाँकी चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, स्याङ्जा, धादिङ, दाङ, कास्की, रुपन्देही, इलामलगायत १३ जिल्लाका ४६ जना रहेका छन्। घटनासँग सम्बन्धित व्यक्तिको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

