काठमाडौं— हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ भने मधेश प्रदेशमा आंशिक बदलीसहित मौसम प्रायः सफा देखिएको छ।
गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमसहित अन्य पहाडी भूभागमा केही स्थानमा तथा बाँकी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
रातिको अवस्थामा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित पहाडी भूभागमा केही स्थानमा र अन्य ठाउँमा थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने देखिएको छ। यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा केही र अन्य क्षेत्रका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ।

