काठमाडौँ- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गरेको छ।
एक सय ६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। दिल्लीका अभिषेक पोरेलले आक्रामक ५१ रन बनाए भने कप्तान अक्षर पटेलले ३४ रन जोडे। केएल राहुल ५७ रनमा अविजित रहे।
लखनउका एडन मारक्रमले दिल्लीका दुई विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। एडन मारक्रम र मिचेल मार्सले ८७ रनको साझेदारी गरे। मारक्रम ५२ र मार्स ४५ रनमा आउट भए।
दिल्लीका बलर मुकेश कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए।
यो जितसँगै दिल्लीले १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान १२ अंक भए पनि रनरेटका आधारमा गुजरात टाइटन्स शीर्ष स्थानमा छ। लखनउ भने १० अंकसहित पाँचौं स्थानमा झरेको छ।
आईपीएलमा आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।

