दार्चुला— सदरमुकाम खलङ्गाको नेपाली भूमिमा भारतले तटबन्ध निर्माणको काम तीव्र रुपमा अगाडि बढाइरहेको छ। भारतीय डोजरले दैनिक रूपमा काम गरिरहे पनि स्थानीय प्रशासन र जनप्रतिनिधिहरू मौन बसेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।
२०७० सालको बाढीपछि महाकाली नदीले धार परिवर्तन गरेपछि पारी पुगेको करिब ५० रोपनी नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको स्थानीयको भनाइ छ। कानुनी रूपमा नेपालकै नक्सामा उल्लेखित गल्फैस्थित बसपार्क क्षेत्र अहिले महाकालीको पारीतिर परेको छ।
स्थानीय अनिल ठगुन्नाका अनुसार, सो क्षेत्र विगतमा नेपालकै वन तथा भू–संरक्षण कार्यालय र बासस्थान रहेको थियो। तर अहिले भारतले सो क्षेत्र कब्जा गर्दै डोजर प्रयोग गरेर बाँध निर्माण गरिरहेको छ।
स्थानीय सुन्दरसिंह धामीले नापी विभागको टोलीले अघिल्लो समयमा सो क्षेत्रको नापजाँच गर्दा नेपालको भूमि भएको पुष्टि भए पनि रिपोर्ट अझै सार्वजनिक नगरिएको बताए।
नागरिक अधिकारकर्मी कमलराज जोशीले महाकाली नदी अहिले वास्तविक सीमामा नबगिरहेको बताउँदै, “गल्फै पारीको भूमि पनि नेपालकै हो, तर भारतले कब्जा गर्दैछ,” भने।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार भारतीय प्रशासनसँग मौखिक र लिखित रूपमा काम रोक्न आग्रह गरिएको भए पनि सुनुवाइ नभएको छ। “शनिबार मात्रै पाँच वटा डोजरले काम गरिरहेको भेटियो,” एक सुरक्षाकर्मीले जानकारी दिए।
यसअघि नेपालतर्फ तटबन्ध बनाउन अवरोध गर्दै आएको भारतले अहिले भने पारीपट्टी नेपाली सीमाभित्रै गएर निर्माण सामग्री लैजाने र नदीको धार फर्काउने काम गरिरहेको देखिएको छ।
नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टले नेपालमा सार्वभौमिकता मिचिएको भन्दै तत्काल बाँध निर्माण रोक्न सरकारसँग माग गरेका छन्।
प्रजिअ पौडेलले सरकारलाई आवश्यक रिपोर्टिङ गरिएको र अब कूटनीतिक माध्यमबाट विवाद पुनः नउत्पन्न हुने गरी समस्या समाधान गर्नुपर्ने बताए।

