सुदूरपश्चिम नेपालको अति दुर्गम अछामको मेल्लेख गाउँपालिका–३, ठाँटिदरबारमा वि.सं. २०३६ सालमा जन्मिएका खेमराज बुढा अहिले भारतको सर्वोच्च अदालतमा कार्यरत छन्। सगुने बुढा र तुलिदेवी बुढाका पाँच सन्तानमध्ये जेठा खेमराजले हाल भजनी नगरपालिका–२, कैलालीलाई आफ्नो स्थायी ठेगाना बनाएका छन्।
खेमराजले प्रारम्भिक शिक्षा मेल्लेखकै श्री पिपलसैन माध्यमिक विद्यालयमा कक्षा ७ सम्म पुरा गरे। पारिवारिक जिम्मेवारीका कारण वि.सं. २०५६ सालमा पढाइ बीचमै छोडेर उनी १९ वर्षको उमेरमै रोजगारीको खोजीमा भारत पसे। त्यहीँबाट सुरु भयो उनको संघर्षमय जीवनयात्रा।
वि.सं. २०५९ सालमा हरियाणाको सेक्टर २९ स्थित प्रहरी चौकी प्रमुख जितेन्द्र राणासँगको भेटपछि उनले भारत सरकारको सुरक्षा निकायमा सेवा प्रवेश गरे। त्यसपछि वि.सं. २०६२ सालमा दिल्ली प्रहरीका आयुक्त कृष्ण कान्त पालसँग कार्य गर्दै उनले आफ्नो भूमिका थप सशक्त बनाउँदै लगे।
लगातारको समर्पण, इमानदारिता र कडा मेहनतको फलस्वरूप भारत सरकारले उनलाई वि.सं. २०७५ साल फागुन २६ गतेदेखि भारतको सर्वोच्च अदालतमा पदस्थापन गर्यो। हाल उनी त्यहाँका ५३औं न्यायाधीश सूर्य कान्तसँग विगत ६ वर्षदेखि कार्यरत छन्। उत्कृष्ट सेवाका लागि माघ २३ गते राष्ट्रपति भवन, नयाँ दिल्लीमा आयोजित सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सवमा विशेष सम्मानसमेत प्राप्त गरेका छन्।
तर खेमराज केवल एक सफल कर्मचारी मात्र होइनन्, उनी एक सहृदय, सहयोगी र समाजप्रति उत्तरदायी व्यक्ति पनि हुन्। समाजसेवी लक्ष्मी बोगटी कुँवरको माध्यमबाट उनले विपन्न, दुःखी र असहायहरूलाई निरन्तर सहयोग गर्दै आएका छन्। उनी भन्छन्, “संघर्षमै जीवन छ, आफै बाँच्ने मात्र होइन, अरूलाई पनि बाँच्न सहयोग गर्नु मानव धर्म हो।”
उनको परिवारमा श्रीमती, दुई छोराहरू, आमा, बुबा र उनी स्वयं गरी ६ जना सदस्य छन्। आमा–बुबा हाल भजनीमा बसोबास गर्दै छन् भने जेठा छोरा लक्स बुढा जापान जानको तयारीमा काठमाडौँमा अध्ययनरत छन्। खेमराज हाल श्रीमती र कान्छो छोरासँग नयाँ दिल्लीमा बस्दै आएका छन्।
खेमराज बुढाको जीवन एक सामान्य गाउँले किशोरबाट सुरु भई सर्वोच्च अदालतसम्मको प्रेरणादायी यात्रा हो। उनले देखाएका छन्— सीमित साधन, अप्ठ्यारा परिस्थितिमा पनि दृढ संकल्प, मेहनत र इमानदारीले असम्भव जस्तो लाग्ने लक्ष्यहरू पनि प्राप्त गर्न सकिन्छ।
उनको कथा लाखौं युवाहरूका लागि प्रेरणाको स्रोत हो— विशेषतः ती युवाहरूका लागि जो दुर्गम भूगोल, अभाव र बाधाहरूले जीवनमा सफल हुने सपना देख्न हिच्किचाउँछन्। खेमराजको यात्रा यही सन्देश दिन्छ— “जहाँ चाह, त्यहाँ राह।”

