धनगढी- सुदूरपश्चिम प्रदेशका लागि १७ लाख १६ हजार थान पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले धनगढी पठाएको छ। यो पुस्तकहरू शैक्षिक सत्र २०८२ का लागि आवश्यक हुन्।
सुदूरपश्चिमका ९ वटै जिल्लाका सामुदायिक विद्यालयहरूमा कुल १८ लाख १७ हजार थान पुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ। हालसम्म १७ लाख १६ हजार थान पुस्तक शनिवारसम्म धनगढीमा पुगेका छन्। शनिवार मात्रै जनक शिक्षा सामग्री केन्द्रले थप दुईवटा गाडी छापाखानाबाट किताब लिएर धनगढी पठाएको छ।
जनक शिक्षा सामग्री केन्द्र, प्रादेशिक कार्यालय धनगढीका अनुसार काठमाडौँबाट आएका गाडीहरू धनगढी पुगेपछि मागअनुसार पुस्तक वितरण कार्य पूरा हुनेछ।
धनगढीमा आएका पुस्तकहरूलाई चैत १७ गतेबाट पहाडी जिल्लाहरूमा पठाउन सुरु गरिएको छ। केन्द्रका प्रमुख रामविनय श्रेष्ठका अनुसार बाजुरा जिल्लाबाट पुस्तक वितरणको काम सुरु गरिएको हो।
हालसम्म पठाइएका पुस्तकको विवरण यस्तो छ:
• बाजुरा: १,०९,२९६ थान
• दार्चुला: ९५,४०६ थान
• बझाङ: ७२,५५० थान
• बैतडी: १,०१,७७३ थान
शुक्रवारसम्म कुल ३ लाख ७९ हजार २५ थान किताब यी चार पहाडी जिल्लाहरूमा पठाइएको छ। डोटी र अछामका लागि भने शनिवार पुस्तक पठाइएको जनाइएको छ।
सुदूरपश्चिममा सूचीबद्ध १९४ जना व्यापारीहरूमार्फत किताब बिक्री–वितरण गरिँदैछ।
जनक शिक्षाले चैत २९ गतेभित्र सबै जिल्लामा किताब पुर्याउने लक्ष्य राखेको छ। तर, स्थानीय तह र विद्यालयहरूले समयमै माग नगरेकाले व्यापारीहरूलाई ढुवानीमा समस्या भएको छ। विद्यार्थीको सङ्ख्या यकिन नहुँदा व्यापारीहरूले पनि किताब ल्याउन ढिलाइ गरिरहेका छन्।
नयाँ शैक्षिक सत्रका लागि कक्षा ९ मा अर्थशास्त्र, वैकल्पिक गणित र कम्प्युटर विषय मात्र परिवर्तन गरिएको छ।

