धनगढी- बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त कोल्डस्टोर औपचारीक रुपमा सञ्चालनमा आएको जनाइएको छ ।
प्रारम्भमा किसानबाट १० टन आलु खरिद गरी भण्डारण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष भट्टले बताए । गाउँपालिकाले बजार मूल्यभन्दा बढी दरमा किसानबाट प्रतिकिलो ५५ रुपैयाँमा आलु खरिद गरेको छ।
यसअघि गाउँपालिकाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको थियो। उत्पादन भएको तरकारी, फलफूल तथा अन्य कृषि उपज भण्डारण गरी बजारमा उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले शीतभण्डार निर्माण गरिएको पालिकाले जनाएको छ। दोगडाकेदार आलु र सुन्तलाको पकेट क्षेत्र भएकाले यसले किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

