काठमाडौँ- सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका ७ सय ७५ छाउगोठ भत्काइएको बताइएको छ ।
शुक्रवारको राष्ट्रियसभा बैठकमा मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्तावमाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर शाह सुडीले यस्तो बताएका हुन्।
उनका अनुसार कर्णाली प्रदेशको जाजरकोटमा एक, कालिकोटमा १५, सुर्खेतमा २९७ तथा सुदूरपश्चिम प्रदेशको बझाङमा २०, कैलालीमा ६९, बाजुरामा १६८ र अछाममा २२१ गरी जम्मा ७७५ छाउगोठ भत्काइएका हुन्। छाउगोठमा बस्ने र बस्न लगाउनेलाई कानूनी दायरामा ल्याउने प्रयास गरिएको उनको भनाइ छ।
उनले समुदाय–प्रहरी साझेदारीमार्फत महिला हिंसा र छाउपडी कुप्रथाविरुद्धको अभियानलाई उच्च प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिएको बताए। महिनावारीमा गर्ने भेदभाव, विभेद र शोषण तथा अन्यायको अन्त्य गरी सुसज्जन समाज निर्माणको लागि मर्यादित महिनावारीसम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारिएको समेत दाबी गरे।
मन्त्री सुडीले भने, ‘कुनैपनि किसिमबाट महिनावारीमा गर्ने भेदभाव, विभेद र शोषण तथा अन्यायको अन्त्य गरी सुसज्जन समाज निर्माणका लागि मर्यादित महिनावारीसम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरिएको छ।’
उनले गृह मन्त्रालयले समेत चालू आर्थिक वर्षमा छाउपडी प्रथाको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन पेश गरेको उल्लेख गर्दै उनले महिनावारीसम्बन्धी कानूनलाई समयसापेक्ष बनाउने बताए।

