धनगढी— ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर क्याम्पस प्रशासनमाथि गम्भीर हस्तक्षेप गरेको आरोप लागेको छ। शनिबार राति १२ बजेदेखि लागू मौन अवधिमा क्याम्पस प्रशासन र निर्वाचन अधिकृत खेम पन्तले आचारसंहिता विपरीत गतिविधि गरेको अनेरास्ववियु कैलालीले आरोप लगाएको छ।
अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काका अनुसार निर्वाचन अधिकृत पन्तले मौन अवधिमा विद्यार्थीहरूको व्यक्तिगत विवरण अमुक संगठनलाई उपलब्ध गराउने कार्यमा भूमिका खेलेका छन्। खड्काले पन्तसहित क्याम्पस प्रशासनले कांग्रेस निकट नेविसंघलाई फाइदा पुग्ने गरी हस्तक्षेप गरेको दाबी गरेका छन्। उनका अनुसार, विद्यार्थीको विवरण सार्वजनिक गर्ने, कांग्रेस निकट प्राध्यापकहरू मार्फत विद्यार्थीलाई जिताउन अभिभावकलाई फोन गर्न लगाउने जस्ता गतिविधि भएको प्रमाण प्राप्त भएको छ।
खड्काले यस विषयमा सोमबार बिहान ८ बजेसम्म छानबिन गरी यथार्थ बाहिर नल्याए क्याम्पस प्रशासनविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्।
तर, निर्वाचन अधिकृत खेम पन्तले भने आफूलाई लागेको आरोप पूर्ण रूपमा निराधार भएको दाबी गरेका छन्। उनले विद्यार्थीको व्यक्तिगत विवरण आईटी शाखासँग मात्र हुने र चार दिनसम्म सिस्टम बन्द गर्ने सहमति भइसकेको दाबी गरेका छन्। उनले यस विषयमा छानबिन आवश्यक रहेको स्वीकार्दै आफू पनि सत्यतथ्य बाहिर आउनुपर्ने पक्षमा रहेको बताए।
ऐश्वर्य क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, र अखिल (क्रान्तिकारी) बीच प्रतिस्पर्धा भइरहेको छ। नेविसंघले अध्यक्षमा दीपक भट्ट, अनेरास्ववियुले दीपेन्द्र भट्ट (दिपेन), र अखिल (क्रान्तिकारी) ले विकास बिष्टलाई उम्मेदवार बनाएको छ।
अनेरास्ववियुका दीपेन्द्र भट्ट यसअघि स्ववियु सचिव भइसकेका र अहिले बलियो प्यानल खडा गर्न सफल देखिएको अनेरास्ववियुले फेरि चुनाव जित्ने बलियो आधार रहेको बेला क्याम्पस प्रशासनले हस्तक्षेप गरेको आरोप अनेरास्वबियु कैलालि का पुर्व अधक्ष्य किशोर शाह ले लगाएका छन ।।

