दिपेन्द्र धामी,बझाङ – जीवन आफैंमा एउटा चुनौतीपूर्ण यात्रा हो। सुख-दुःख, सफलता-असफलता, र निरन्तर परिवर्तनको क्रमले नै जीवनलाई गहकिलो बनाउँछ। जीवनको नयाँ अध्याय प्रारम्भ गर्दै गर्दा, यस यात्रामा आइपरेका विभिन्न कठिनाइहरू, भोगाइहरू, र सिकाइहरूले भविष्यलाई अझ परिपक्व बनाउनेछन्।
यो यात्रा सधैं सहज थिएन। किशोर अवस्थादेखि नै विभिन्न सामाजिक, मानसिक, र भावनात्मक संघर्षहरूसँग जुध्नुपर्यो। जीवन कहिले आकाशजस्तो अग्लो लाग्थ्यो, कहिले धर्तीमा पछारिएको महसुस हुन्थ्यो। तर ती सबै भोगाइहरू नै मेरो परिवर्तनको जग बन्न पुगे।
किशोरावस्था जीवनको संवेदनशील काल हो। यहि समयमा आत्मपहिचान खोज्ने प्रयास हुन्छ। यौनजन्य जिज्ञासा, सामाजिक दबाब, र व्यक्तिगत आकांक्षाहरूको संगमले जीवनलाई अझ चुनौतीपूर्ण बनाउँछ। समाजको आशा र आफ्नो चाहनाबीचको द्वन्द्व, परम्परागत मूल्य र आधुनिक सोचबीचको टकरावले कतिपय निर्णयहरू प्रभाव पार्छन्। म पनि त्यही अवस्थाबाट गुज्रिएँ। कतिपय अनुभवहरू भयावह भए, कतिपय निर्णयहरू गलत साबित भए। कहिलेकाहीँ समाजका नियम र व्यक्तिगत चाहनाबीच तालमेल मिलाउन सकिएन। परिवारको समर्थनले केही हदसम्म सहज बनायो, तर यात्रा सहज थिएन। कहिलेकाहीँ आफू आफ्नै बोझ बनेँ, कहिलेकाहीँ समाजका लागि अतिरिक्त जिम्मेवारीझैं महसुस गरियो।
जीवन निरन्तर बगिरहेको नदीजस्तै लाग्थ्यो, जसलाई आफ्नो मार्ग पहिल्याउन संघर्ष गर्नुपथ्र्यो। कहिले यो नदी चौडा भयो, कहिले सँघरो। कहिले सपनाका पुलहरू भेटिए, कहिले ती पुलहरू भत्किए। कुनै पनि व्यक्तिको जीवनमा समाजको भूमिका महत्वपूर्ण हुन्छ। मेरा लागि पनि समाजले महत्त्वपूर्ण भूमिका खेलेको छ। सँगत र सम्बन्धहरूले मेरो जीवनलाई फरक दिशातिर मोड्न प्रयास गरे। केही सहायक मित्रता थिए, केही बाधक सम्बन्धहरू। कोही अघि बढ्न प्रेरित गर्नेहरू थिए, कोही पछाडि तान्नेहरू।
यात्राको क्रममा विभिन्न प्रकारका व्यक्तिहरूसँग भेट भयो। कोही गहिरो मित्रता गाँस्नेहरू, कोही क्षणिक चिनारी बनेर जानेहरू। केही सम्बन्धहरूले मनमा चोट पुर्याए, केहीले प्रेरणा दिए। लामाे हातदेखि छाेटा हातसम्म, खुट्टादेखि जुत्तासम्म – समाजका विभिन्न पाटा देख्न पाइयो। कहिलेकाहीँ जीवन आफैं अनिश्चित जस्तो लाग्थ्यो। आफ्नो पहिचानको खोजीमा हिंड्दा धेरै गलत मोडहरू आए। आफूलाई बुझ्न कठिन भयो, अरूलाई बुझ्न झन् कठिन। जीवनको हरेक पाटोलाई समान रूपमा समेट्ने प्रयास गरेँ, तर कतिपय घटनाहरू नियन्त्रण बाहिर थिए।
तर अब, म परिवर्तनको दिशामा अग्रसर हुँदैछु। परिवारका सपना पूरा गर्न, आफ्ना कमजोरीहरू सुधार्न, र जीवनलाई नयाँ तरिकाले हेर्न जरुरी छ। हिजोका गल्तीहरूलाई पाठ बनाएर, नयाँ सुरुवात गर्ने समय आएको छ। अब, हरेक असहज परिस्थितिलाई सहज रूपमा स्वीकार्नेछु। कठिनाइहरूलाई चुनौतीका रूपमा हेर्नेछु, र अवसरहरूलाई सदुपयोग गर्नेछु। जीवनका हरेक उतार-चढ़ावबाट केही न केही सिक्दै अगाडि बढ्नेछु।
मेरो यो नयाँ अध्याय संघर्ष, आत्मचेतना, र निरन्तर प्रगतिप्रतिको प्रतिबद्धताको प्रतीक हुनेछ। अब समय बदलिएको छ, म पनि बदलिनुपर्छ। मेरो परिवर्तन केवल व्यक्तिगत यात्रा होइन, यो परिवार, समाज, र भविष्यको उज्यालो यात्राको सुरुवात हो।

