धनगढी- कैलालीमा अवस्थित ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिन लागेको छ ।
जिल्लाको टीकापुर नगरपालिका–७ स्थित डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिन लागेको हो ।
अहिले पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको संयुक्त लगानीमा ताल क्षेत्रको सौन्दर्यीकरण भइरहेको वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए। उनका अनुसार ताल परिसरमा २०५ मिटर पर्खाल निर्माणको काम पूरा भएको छ। यसैगरी, तालमा पानी आपूर्तिका लागि दुई वटा बोरिङ निर्माण गरिएको छ।
आगन्तुक बस्नका लागि बेन्च राख्ने, टहरा बनाउने कार्य पनि भइरहेको छ। यस्तै, ताल परिसर क्षेत्रमा बिजुली जडान, बाटोमा ग्राभेलको काम पनि भइरहेको अध्यक्ष न्यौपानेले बताए। १२ बिघा क्षेत्रफलमा फैलिएको ओजुवा ताल विभिन्न प्रजातिका चरा पनि बस्ने गरेका छन्।
ताल परिसर सौन्दर्यीकरणका लागि सङ्घीय सरकारले समपूरक अनुदान अन्तर्गत ८० लाख र टीकापुर नगरपालिकाले ८० लाख बजेट विनियोजन गरेका छन्। टीकापुरकै साउँद बिल्डर्सले ठेक्का पाएर संरचना निर्माणको काम गरिरहेको छ। निर्माण कम्पनीले ढिलाइ गरेपछि एक करोड दुई लाख रुपियाँमा काम गरिरहेको जनाइएको छ।

