धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचारिक उद्घाटन नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले गरेका छन्।
एक विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेल, उपप्रमुख भोजबहादुर बम, वडा नं. १ का अध्यक्ष डबल दियाकोटी, चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेशराज जोशी, युवा व्यवसायी चक्र रावल, जनक मल्ल, नरेन्द्र स्मृति प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रताप सिंह, उमेश जोशी लगायतको उपस्थिति थियो।
फार्ममा माछापालन, बाख्रापालन, कुखुरापालनसँगै विभिन्न कृषि उत्पादनसम्बन्धी गतिविधि सञ्चालन गरिने सञ्चालक किरण मल्लले जानकारी दिए।
कृषि, पशुपालन र मत्स्यपालनलाई एउटै प्रणालीमा जोडेर उपलब्ध स्रोतको अधिकतम उपयोग गर्ने अवधारणासहित फार्म स्थापना गरिएको मल्लले बताए। उनका अनुसार फार्मले स्थानीयस्तरमा आधुनिक कृषि प्रविधिको प्रयोग, रोजगारी सिर्जना, व्यावसायिक कृषि विस्तार तथा दिगो कृषि विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
एकीकृत कृषि प्रणालीमार्फत स्थानीय कृषकलाई आधुनिक तथा व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यसमेत फार्मको रहेको सञ्चालक मल्लले बताए।
उद्घाटन कार्यक्रममा राजदूत बास तथा उहाँको परिवारको सहभागितालाई फार्म सञ्चालक पक्षले विशेष महत्त्वका साथ लिएको जनाएको छ। कार्यक्रममा उपस्थित अतिथिहरूप्रति सञ्चालक पक्षले धन्यवाद तथा आभारसमेत व्यक्त गरेको छ।
सञ्चालक मल्लका अनुसार फार्मको उद्घाटनसँगै गौरीगंगामा आधुनिक, व्यावसायिक र एकीकृत कृषि प्रणालीको अभ्यास विस्तार गर्ने नयाँ यात्राको सुरुवात भएको छ। आगामी दिनमा फार्मलाई कृषि, पशुपालन र मत्स्यपालनको एकीकृत नमुना फार्मका रूपमा विकास गर्दै लैजाने योजना रहेको उनले जानकारी दिए।

