काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।
हाल पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराईका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेस र कोशीका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
आज राति पनि हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

