बझाङ : निर्वाचन परिणामको प्रतीक्षामा धेरै उम्मेदवारहरू अदालत र मतगणनाको निर्णयतर्फ नजर लगाइरहेका बेला एमाले नेता ऐन महर भने जनताको सेवामा निरन्तर खटिएको दृश्यले धेरैको ध्यान तानेको छ ।
काठमाडौंमा विद्यार्थी राजनीति गर्दादेखि नै सामाजिक काम र मानव सेवामा सक्रिय रहँदै आएका महरले चुनावी प्रतिस्पर्धाको बीचमा पनि आफ्नो सेवा भाव रोकेनन् । मतगणना कहिले सुरु होला भन्ने अन्योलका बीच धेरै नेता–कार्यकर्ता प्रतीक्षामा बसिरहेका बेला महर भने संकटमा परेका नागरिकको उद्धारमा जुटिरहेका छन् ।
बझाङको मष्टा गाउँपालिका–२, तुतिका निवासी टीका धामी माछा मार्न जाँदा लडेर गम्भीर घाइते भएपछि स्थानीयहरू अत्यन्त चिन्तित बनेका थिए । दुर्गम गाउँमा उपचार सम्भव नभएपछि तत्काल उद्धारको आवश्यकता देखिएको थियो । त्यही समयमा एमाले नेता ऐन महरले पहल गर्दै सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर घाइते धामीलाई तुरुन्तै उद्धार गरी कोहलपुर उपचारका लागि पठाउने व्यवस्था गरेका हुन् ।
चुनावी प्रतिस्पर्धा र राजनीतिक व्यस्तताका बीच पनि एक घाइते नागरिकको जीवन बचाउन गरिएको यो पहललाई स्थानीयहरूले मानवता, नेतृत्व र जिम्मेवारीको उदाहरण भन्दै प्रशंसा गरिरहेका छन् ।
राजनीति केवल सत्ता र पदका लागि मात्र होइन, संकटमा परेका नागरिकको साथमा उभिन पनि हो भन्ने सन्देश महरको यो कामले दिएको धेरैको भनाइ छ ।स्थानीयवासीहरू भन्छन्— “मतगणना अझै हुन बाँकी छ, तर ऐन महरले जनताको मन भने पहिल्यै जितिसके।”

