धनगढी- कैलालीको चुरे गाउँपालिका–२ का विभिन्न पीडित परिवारका लागि स्थानीय युवाहरूले सञ्चालन गरेको सहयोग अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको छ।
मनोज साउद लगायतको युवा टोलीको पहलमा सुरु गरिएको अभियानमार्फत संकलित करिब ६६ हजार रुपैयाँभन्दा बढी रकम आर्थिक अभावमा रहेका तीन घरपरिवारलाई सहयोग गरिएकाे हो। कड्कीरीका करी पार्की, पारु पार्की र छोरा खड्क पार्की परिवारको दयनीय अवस्थालाई मध्यनजर गर्दै सुरु गरिएको अभियानबाट संकलित १७ हजार ७७० रुपैयाँ स्थानीय सरकारको रोहवरमा हस्तान्तरण गरिएको छ। साथै तीनै सदस्यलाई चिसो मौसमका लागि जाकेट समेत वितरण गरिएको थियो।
त्यसैगरी, चुरे गाउँपालिका–२ बन्तपुरका राम साउदका १० वर्षीय छोरा योगेन्द्र साउद गाईबाख्रा चराउन जाँदा भिरबाट लडेर गम्भीर रूपमा घाइते भएपछि उपचारका लागि आर्थिक अभाव भएको परिवारलाई लक्षित गरी अर्को अभियान सञ्चालन गरिएको थियो। ललित दियाकोटी र मनोज साउदको नेतृत्वमा सुरु गरिएको अभियानमार्फत योगेन्द्रको उपचारका लागि २१ हजार ७९१ रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ।
यस्तै, कड्कीरीकी स्व. टिकाश्वोरी बि.कको परिवारका लागि सञ्चालन गरिएको छुट्टै अभियानबाट जम्मा २६ हजार ७९१ रुपैयाँ ६२ पैसा संकलन भएको थियो। तीमध्ये १७ हजार ४१५ रुपैयाँ पहिले नै हस्तान्तरण गरिएकामा बाँकी ९ हजार ४०० रुपैयाँ हिजो पुनः हस्तान्तरण गरिएको कार्यक्रम संयोजकहरुले बताएका छन्।
सहयोग हस्तान्तरण कार्यक्रम हुकुम साउदको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य मनसरा बि.क, नरबहादुर साउद, रास्वपाका युवा नेता प्रेम साउदलगायत स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन दिलिप बोहराले गरेका थिए।

