बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीस्थित गैरी क्रिकेट खेल मैदानको सोमबार एक कार्यक्रमका बीच सिलान्यास गरिएको छ। दुर्गाथलि जनचेतना युवा समाज जाफ्रीको पहलमा गरिएको उक्त सिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्राविधिक टोली, जनप्रतिनिधि, स्थानीय अभिभावक तथा युवाहरूको उपस्थितिमा खेल मैदान निर्माणको औपचारिक सुरुवात गरिएको हो।
स्थानीयको वर्षौँदेखिको सपना साकार पार्नका लागि खेल मैदानका निम्ति जग्गा उपलब्ध गराउने जग्गादाताहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै समाजले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकट गरेको छ।
समाजका पदाधिकारीहरुले खेल मैदान निर्माणका क्रममा भएका कमी–कमजोरीलाई क्षमा गरी आगामी दिनमा पनि सकारात्मक सहयोग तथा सुझावका लागि अनुरोध गरेका छन्। उनीहरूका अनुसार, “गाउँबासीबीचको एकता र सहकार्य नै विकासको आधार हो, र यसको जीवन्त उदाहरण अहिले निर्माण शुरु भएको खेल मैदान हो।”
गाउँपालिका तथा सरोकारवालाको निरन्तर सहयोगमा निर्माण हुन लागिएको यो मैदानलाई स्थानीयले गाउँ, जिल्ला तथा राष्ट्रिय स्तरको नमुना खेल मैदानका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन्। खेलसँगै पर्यटन प्रवर्द्धन, स्थानीय आयआर्जन, आर्थिक विकास र प्रतिभावान खेलाडी उत्पादनमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
दुर्गाथलि जनचेतना युवा समाज जाफ्रीले सबै पक्षसँग यस ऐतिहासिक योजनालाई सफल बनाउन सहयोग र सहकार्यको निरन्तरता जारी राखिदिन आग्रह गरेको छ।

