बझाङ- बझाङको बित्थडचिर गाउँपालिका ४ मा रहेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकागुलेसन सेवा सुरु भएको छ । आवश्यक उपकरण स्वास्थ्य केन्द्रमा पुगेपछि आज बुधबारदेखि पाठेघरको मुखको स्क्रिनिङ तथा थर्मोकागुलेसन सेवा सुरु गरिएको हो ।
क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउने भिआइए (VIA) स्क्रिनिङ सेवा तथा उपचारका लागि थर्मोकागुलेसन सेवा सुरु स्वास्थ्य केन्द्र प्रमुख डा.राधिका जैसवालले जानकारी दिए । उनले यो सेवा सुचारु गरिएसँगै अब गाउँकै स्वास्थ्य केन्द्रमा महिलाले सजिलै उपचार तथा जाँच गराउन सक्ने भएका छन्।
नेपालमा प्रत्येक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र तीमध्ये ४ जनाको मृत्यु हुने तथ्याङ्क रहेकोले यसलाई समयमै पहिचान र उपचार गर्नु अत्यन्त आवाश्यक मानिन्छ।
यो स्क्रिनिङ विशेष गरी ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूका लागि प्रभावकारी मानिन्छ, जसले १० वर्षसम्मको सम्भावित क्यान्सरको खतरा पनि प्रारम्भमै पत्ता लगाउन मद्दत गर्ने डा. राधिकाको भनाइ छ ।
स्क्रिनिङको क्रममा समस्या पत्ता लागेमा थर्मोकागुलेसन प्रविधिद्वारा सोही केन्द्रमै उपचार गर्न सकिने हुँदा अब बाहिर जानु, अतिरिक्त खर्च गर्नु वा जटिल प्रक्रियाको प्रतीक्षा गर्नु पर्ने बाध्यता हटेको छ ।
स्वास्थ्य केन्द्रमा उक्त प्रविधिसहितको सेवा सुरु हुनु महिला स्वास्थ्य सुरक्षाका लागि खुसीको विषय रहेको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूले बताएका छन्। स्वास्थ्यकर्मीहरूले महिलालाई नियमित रूपमा भिआइए(VIA) स्क्रिनिङ गराउन र लक्षण देखिएमा नलुकाई समयमै स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

