बझाङ- बझाङको केदारस्युँ गाउँपालिकामा कक्षा ८ मा ४६ जना मात्रै पास ( ग्रेडेड) भएका छन् ।
पहिलोपटक पालिकाले लिएकाले पालिका स्तरीय कक्षा ८ को परिक्षामा १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागी भएपनि जम्मा ४६ जना मात्रै पास (ग्रेडेड) भएका हुन् । बाँकी ५ सय ४१ जना विद्यार्थी फेला (नन ग्रेडेड ) भएका छन् ।
गाउँपालिकाले आफैं प्रश्नपत्र तयार गरेर चारवटा परीक्षा केन्द्र निर्धारण गरि फागुन २५ गतेदेखि चैत ५ गतेसम्म परिक्षा सञ्चालन गरेको थियो।
उक्त परिक्षामा केदारस्यूँ गाउँपालिका- १ रातापानीमा रहेको बेताल माध्यमिक विद्यालय र वडा नम्बर १ मै रहेको भवानी माध्यमिक विद्यालय डुडिलका सबै विद्यार्थी फेला (नन ग्रेडेड) भएका पालिका शिक्षा शाखाले जनाएको छ ।
सबैभन्दा राम्रो नतिजा सरस्वती आधारभूत विद्यालय गाजरी, केदारस्युँ–६ ले निकालेको छ। उक्त विद्यालयका कक्षा ८ का १० जना विद्यार्थीमध्ये ४ जना पास (ग्रेडेड) भएका छन्।
यस्तै भैरव माध्यमिक विद्यालय झोताका पनि एक जना मात्र विद्यार्थी पास (ग्रेडेड हुन )सफल भएका छन्।
परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणका लागि एक विद्यालयको शिक्षकलाई अर्कै विद्यालयको उत्तरपुस्तिका जाँच्ने व्यवस्था मिलाइएको थियो।
शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि पालिका स्तरीय परीक्षा प्रणाली सुरु गरिएको पालिका शिक्षा शाखा प्रमुख केशवराज भट्टका जानकारी दिए ।
यो नतिजाले पालिकाको शैक्षिक अवस्था निकै कमजोर देखाएको छ ।
यता शिक्षा शाखा प्रमुख भट्टले भने यसवर्ष आएको नतिजालाई पालिकाले गम्भीरतापूर्वक लिएको छ। आगामी वर्षदेखि सुधार गर्दै लैजाने योजना बनाएको छ।
पालिकाभरका ८९ जना दुई विषय लागेकोहरुले यही चैत २९ र ३० गते ग्रेडबृद्वि परिक्षा दिन पाउनेछन् ।


