दिपायल-सिलगढीमा जिप सेवा बन्द, नगर बसको ‘एकाधिकार’ विरुद्ध चालक आन्दोलित
डोटी - डोटीको दिपायल सिलगढी नगरपालिकामा जिप चालकहरूले आइतबारदेखि जिप सेवा बन्द गरेका छन्। नगरपालिकाले नगर बसलाई मनोमानी रूपमा दिपायल- सिलगढी रुटमा मात्र सञ्चालन गरेको भन्दै आफूहरू मर्कामा परेको जिप चालकहरूको गुनासो छ।
जिप चालक गोबिन्द मलासीका अनुसार नगर बसले नगरभित्रका अन्य क्षेत्रमा सेवा नदिँदा यात्रु ओसारपसारमा असन्तुलन आएको र त्यसको प्रत्यक्ष असर जिप व्यवसायमा परेको छ। चालकहरूले नगर बसलाई तिखा, राजपुर, कलेना, शान्तिनगर र लडागडासम्म सञ्चालन गर्न माग गरेका छन्।
यता, शैलेश्वरी यातायात व्यवसायी संघका अध्यक्ष गणेश मलासीले जिप चालकहरूको समस्या समाधानका लागि नगरपालिकासँग समन्वय गर्ने बताएका छन्। उनले जिप चालक पक्षमा पनि केही कमजोरी रहेको स्वीकार गर्दै सुधार आवश्यक रहेको उल्लेख गरे।
माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनीसहित जिप चालकहरूले आज जिप सेवा पूर्ण रूपमा बन्द गराएका छन्।...


