काठमाडौं-आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज कतारसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।
सुपर सिक्सको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई १ रनले पराजित गरेको थियो। समूह ‘बी’को विजेता बनेको नेपालले समूह चरणमा कुवेतलाई ५८ रनले र जापानलाई पाँच विकेटले हराउँदै लगातार जित निकालेको हो। नेपाल आज चौथो जितको खोजीमा छ।
कतार समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गरेको हो। उसले समूह चरणमा मलेसियालाई हराएको थियो भने युएईसँग पराजित भएको थियो। सुपर सिक्समा कतार ओमानसँग ३४ रनले हारेको छ।
यी दुई टोलीबीच अहिलेसम्म तीन खेल हुँदा नेपालले दुई र कतारले एक खेल जितेका छन्। अपराजित नेपाल सुपर सिक्समा ४ अंकका साथ शीर्ष स्थानमा छ भने कतार अंकविहीन छ।
नेपालले सुपर सिक्स चरणमा कतारपछि बुधबार ओमान र शुक्रबार सामोआसँग प्रतिस्पर्धा गर्नेछ।
यस चरणका १२ खेलपछि शीर्ष तीन टोलीले आगामी २०२६ फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छन्।