धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोडमा ६० लाख रुपैयाँ लागतमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।
यो केन्द्र धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो । केन्द्र निर्माणमा यूएनडिपी विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र हेकाफ ३६० को प्राविधिक सहयोग रहेको छ ।
स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोर यहाँ ल्याएर ‘अटो–क्लेभ मेसिन’मार्फत उच्च तापक्रम र प्रेसरमा राखी जीवाणु नष्ट गरी मात्र व्यवस्थापन गरिनेछ ।
धनगढी उपमहानगरपालिकामा हाल १७१ वटा स्वास्थ्य संस्था रहेका छन्, जसमा २१ वटा नगरकै मातहतमा छन् । यी संस्थाबाट दैनिक ठूलो मात्रामा फोहोर निस्कने भएकाले अब स्रोतमै पृथकीकरण गर्ने तयारी गरिएको छ । घरदैलो खोप कार्यक्रममा प्रयोग हुने खोप झोला र सुई काट्ने सुविधा पनि व्यवस्था गरिएको जनाइएको छ ।