काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्नुअघि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग अन्तरङ्ग कुराकानी भएको छ । मंगलबार नेकपाको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा दुई शीर्ष नेताबिच एक घण्टा लामो कुराकानी भएको हो ।
काम विशेषले कपिलवस्तु गएका बेला विप्लवलाई भेट्न शर्मा शिवगढी पुगेका थिए । छलफलमा पार्टी एकता र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट लैजाने विषयमा सकारात्मक कुराकानी भएको महासचिव विप्लवले रातोपाटीसँग बताए । तर माओवादीले संस्थागत निर्णय नगरी अहिले नै एकता भइहाल्छ भन्ने अवस्था छ भनेर बुझ्न नहुने उनको तर्क छ ।
‘प्रभाकरजी काम विशेषले यहाँ आउनुभएको थियो । भेटघाट गरौँ भन्ने कुरा भयो, भेट्यौँ । कुराकानी राम्रो भएको छ । पहिलो कुरा देशमा जुन जटिल खालको राजनीतिक परिस्थिति बनेको छ । त्यसब...




