महिना दिनदेखि त्रिपालमै बझाङका भूकम्पपीडित, सरकारले बाचा बिर्सिएको गुनासो
बझाङ — थलारा गाउँपालिका–३ कुचगाउँकी ७० वर्षीया हंसा नेपाली बुहारी र दुई नातीसहित एक महिनादेखि पालमा बसिरहेकी छन् । पालमा बस्दा राति शित चुहिन्छ । दमकी रोगी उनको बिमार दम दिनदिनै बढिरहेको छ । ‘चिसोले रातभरी सुत्न सकिदैन । खोकेरै रात बिताइरहेकी छु । बुहारी र नाती पनि ढाड कम्मर दुख्यो भनेर सुत्न सक्दैनन्,’ उनले भनिन्, ‘मलाई त दिनदिनै गाह्रो हुन थाल्या छ । कुन दिन पुक्लुकै ढल्छु थाहा छैन ।’
भूकम्प गएको चौथो दिन ठूलो तामझामसहित बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल राहत उपलब्ध गराउने घोषणा सुनेकी उनी महिना दिनसम्म पनि राहत नपाउँदा निरास छन् । ‘प्रधानमन्त्री आएको हेलिकप्टर देखेकी हुा । घर भत्केकालाई टिनको टहरा बनाउन ५० हजार आउँछ भन्ने पनि सुनेकी हुँ,’ उनले भनिन्, ‘अहिलेसम्म केही आएको छैन । पैंसा हुनेले आफै टहरा हालेर बसिसके...

