
धनगढी – कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारू समुदायको होरी पर्व सुरु भएको छ ।
फागुन पूर्णिमाका दिन होलिकाको पूजाआजा गरी यो पर्व सुरु गरिन्छ । रानाथारू समुदायले ‘जिन्दा’ र ‘मरी’ गरी एक महिना आठ दिनसम्म होरी पर्व मनाउने चलन छ ।
पूर्णिमाका दिन ‘भुइँया’ (कुल देवता राख्ने ठाउँ) मा वा त्यस आसपास खेतमा होलिकाको प्रतिमा स्थापना गरी पूजाआजा गरिन्छ ।
गाउँको मुख्य व्यक्ति भलमनसा, युवा, बुद्धिजीवीलगायतको उपस्थितिमा ‘भर्रा’ (गुरुवा) ले होलिकाको पूजाआजा गर्ने चलन छ ।
पूजाआजा गरेपछि होरीको गीत गाउँदै केहीबेर लयबद्ध ढङ्गले सामूहिक रूपमा होरी खेल्ने चलन छ ।

