
बाजुरा – बाजुराको बुढीगङ्गा नगरपालिका–७ मा वडा सचिव नआएको भन्दै माघ ८ गते लगाइएको ताला अझै खुलेको छैन ।
राजनीतिक दलले वडामा सचिवको माग गर्दै तालाबन्दी गरेको दुई हप्ताभन्दा बढी समय बितेको छ ।
वडा कार्यालयबाट हुने काम कारबाही प्रभावित बन्दै गएको छ भने स्थानीयवासी आक्रोषित भएका छन् । स्थानीय तहको दोस्रो निर्वाचनपछि अहिलेसम्म सो वडामा सचिव नपठाएकोले तालाबन्दी गरेको नेपाली कांग्रेस बुढीगङ्गा नगरपालिका–७ का वडा सभापति वीरबहादुर केसीले बताए ।
पालिकाका अन्य वडाले सचिव पाउनु र यो वडाले सचिव किन नपाएको भन्दै उनले यस वडाका सबै राजनीतिक दलको संयुक्त रोहबरमा ताला लगाएको स्पष्ट पार्नुभयो । वडा सचिव नपाउँदासम्म ताला नखोलिने केसीले बताए ।
लामो समयसम्म वडामा तालाबन्दी भएपछि स्थानीयवासी नागरिकता सिफारिस, जन्मदर्ता, विवाहदर्ता, बसाँइसराइ, मृत्युदर्तालगायतका सिफारिस लिनबाट वञ्चित भएका छन् ।

