Advertisement

बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

Advertisement

बझाङ – फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो । डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन । 

छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन । सातापछि बल्ल मौसम खुल्यो । नेटवर्क आयो र फोनमा कुरा भयो । सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो ।

उनी शनिबार यही पीडा वरिपरि बसेकालाई सुनाउँदै थिइन् । गत भदौको उनको पीडा सुनेर एकछिन माहोल नै चिसियो । सबै जना आश्चर्यचकित भावमा देखिए । “हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो । लेखान्तमा जे लेखियो, त्यहीँ भोग्नुपर्दो रहेछ,” उनले भनिन् ।

उनी दुई नातिसँगै छविसपाथीभेरा गाउँपालिका–१ परिङालमा रहेको आफ्नै घरमा बस्छिन् । नातिद्वय जीवन र सक्षम गाउँकै भैरव आधारभूत विद्यालयमा पढ्छन् । छोरा तथा बुहारी भारतको बैङलोरमा मजदुरी गरिरहेका छन् । उनीहरुले पठाएको पैसाले घर खर्च चलाउनु परेको पारुले सुनाइन् ।

यस्तो पीडा र अवस्था सबै परिङालबासीको उस्तै छ । “आँगनमा काग कराएको दिन पनि अशुभ खबर सुनिन्छ कि भन्ने पीर पर्छ,” छिमेकी चन्द्रा गिरीले भनिन्, “परदेशिएकाहरुलाई केही नहोस् भनेर दियो बालिरहन्छौँ । भगवान्को आराधना गरिरहन्छौँ । चिन्ता बैङलोरकै हुन्छ ।” परिवारका सदस्यसँगै बस्न र घरमै हुन त भाग्यमै लेखेको हुनुपर्ने उनले बताइन् ।

उनका अनुसार परिङालमा ८० परिवार छन् । झन्डै चार सय जनसङ्ख्या भएको गाउँ हिजोआज भने सुनसान जस्तै छ । काम गर्न सक्ने जनशक्ति सबै भारतमा गएपछि बालबालिका र वृद्धवृद्धाले जेनतेन गाउँ धानेका छन् । “प्राकृतिक विपद्बाट अहिले ३० परिवारले गाउँ नै छोडिसकेका छन्,” उनले भनिन्, “कतिपयले भारतमा सङ्घर्ष गर्दै तराईतिर जग्गा जमिन जोडिसके । कतिले भारतमै आधार कार्ड पाएर परिवारलाई उतै व्यवस्थापन गर्ने तयारी गरिरहेका छन् ।”

चन्द्राका अनुसार परिङालबासी भोको पेट भर्नकै लागि विभिन्न ठाउँमा गएर सङ्घर्ष गरिरहेका छन् । “घरमा बालबालिका तथा वृद्धवृद्धा भएर घरहरू खुला देखिए पनि गर्नसक्ने मान्छे कोही छैन,” उनले भनिन् । उनका अनुसार उहिले कोही पनि भारत जाँदैन थिए । “गाउँमै खेतीपाती गरेर सबैको गुजारा हुन्थ्यो । अहिले जग्गाजमिन बाढीले निल्यो, घर भूकम्पले निल्यो । त्यसपछि गाउँ नै चौपट भयो,” उनले भनिन् । चन्द्राको घरमा नौजना सदस्य छन् । गाउँमा भने अहिले चारजना मात्रै छन् । “छोराछोरीको स्याहार गर्ने मान्छे नहुनाले आफैँले गाउँमा बस्नुपरेको हो । नत्र मेरो उमेरका महिला/पुरुष कोही गाउँमा बस्दैनन् । सबै बैङलोरमा गएर कमाउँछन्,” उनले भनिन् ।

परिङालकै लक्ष्मी गिरीको परिवारमा १३ जना छन् । आफूले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) खाने र तीन बालबालिका गाउँमै पढ्ने हुँदा घर बस्नुपरेको उनले सुनाइन् । “भारतमा जति मजदुरी काम गरे पनि पैसा देखिँदैन,” उनले भनिन्, “सबै कमाउने उतै छन् । उनीहरुले कमाएको पनि खानलाई बराबर हुन्छ ।”

पेट पाल्नकै लागि विदेश जानेको सङ्ख्या बढेपछि गाउँ रित्तिन थालेको छ । सामाजिक काम तथा ठूलो काम गर्न गाउँमा मान्छे नै नभएको लक्ष्मीले बताइन् । उनले भनिन्, “अहिले गाउँ पूरै रित्तिन लागि सक्यो । गह्रौँ काम गर्ने मान्छे अहिले गाउँमै छैनन् । यतिसम्म कि मान्छे मर्दासमेत मलामी नपाइने अवस्था आइसक्यो,” उनले भनिन् । 

गत असोजको भूकम्पपछि गाउँमा १५ परिवार घरमा तालाबान्दी गरेर भारत गइसकेका छन् । अन्य परिवारमा पनि अधिकांश सदस्य भारतमै गएको लक्ष्मीले बताइन् । “हरेक दसैँमा हरेक परिवारले परदेशिएकाहरुको बाटो कुर्नुपर्छ । कति परिवारले त दुई–तीन वर्षपछि मात्रै भेट्न, सुखी साट्न पाउँछन्,” उनले भनिन् ।

विसं २०५७ मा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो । आफूलाई पर्याप्त भएर अन्न बेच्ने परिङालबासीलाई दुई दशकयता भने सङ्कटै सङ्कटले झेलिरहेको छ । दुई वर्षअघि २०७८ असोज ३० देखि कात्तिक ३ गतेसम्म आएको बाढीले बचेको सबै जिउलो बगायो । 

आँगनमा भएको जिउलो मात्रै नभई छिमेकी बगरगाउँमा भएको जिउलोको समेत नामोनिसान मेटाइदियो । गत असोजको भूकम्पले फेरि घरहरू नोक्सान गरेपछि युवाहरु बैङ्लोर जानुको विकल्प नभएको भन्दै परदेशिए ।

स्थानीय प्रमानन्द गिरीका अनुसार परिङालको ८५ प्रतिशत जनसङ्ख्या भारतमा छ । गाउँमा बालबालिका र वृद्धवृद्धाको आश्रम जस्तै छ । “बालबालिकालाई भारतमा पढाउन महँगो पर्ने हुँदा सबैले गाउँमै राखेका छन् । वृद्धवृद्धा पनि बैङलोरमा कमाउन नसक्ने र गाउँमा सामाजिक सुरक्षा भत्ता पाउने हुँदा घरमा बस्नुपरेको हो । भत्ता नपाए पनि काम गर्न नसक्नेको बैङलोरमा पनि काम छैन,” उनले भने । 

भूकम्पले क्षति भएका परिवारका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्थायी संरचना बनाइदिएको छ । “जनता असुरक्षित नहोउन् भन्दै हामीले सबै निकायसँग समन्वय गरिरहेका छौँ,” फियान नेपालकी फिल्ड अधिकृत सीता सिंहले भनिन्, “बाढी तथा भूकम्प पीडितलाई राहत दिन होस् वा नदी कटानलाई नियन्त्रण गर्न होस् । हामी सबै निकायसँग समन्वय गरिरहेका हुन्छौँ ।”

रेडक्रसले बनाइदिएका अस्थायी टहरा र बगरगाउँमा करोडभन्दा बढी मूल्यको ग्याबिन लगाउने काम भइरहेको उनले बताए । छविसपाथीभेरा गाउँपालिका–१ का वडाध्यक्ष करनजङ्गबहादुर सिंह पनि गरिबमाथि नै पटकपटक विपद् आएकामा चिन्ता गर्छन् । उनी भन्छन्, “सुगाला र परिङालका पीडितलाई प्रकृतिले पनि कहिल्यै सुख नदिने भयो । कहिले बाढी त कहिले भूकम्पले उठीवास गर्न थालेको छ ।”

प्रभावित बासिन्दालाई विभिन्न सङ्घसंस्थाबाट केही राहत भए पनि सरकारका तर्फबाट राहत पाउन केही समय लाग्ने उनले बताए । उनले भने, “सरकारले घोषणा गरेको रु ५० हजारका दरले प्रशासनमा आइसकेको भन्ने छ । त्यसका लागि सम्पूर्ण कागजात तयारी गर्दै छौँ । रकम आएपछि सबै परिवारलाई वितरण गर्ने उनले बताए । रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज