पदम बोहरा, जोशीपुर- नेपाल विद्युत प्राधिकरणको जोशीपुर विद्युत प्राविधिक नो लाइट’ सेवाको गम्भीर लापरबाहीका कारण कैलालीको जोशीपुर गाउँपालिकाका विभिन्न वडा तथा गाउँहरू रातभर अन्धकारमय बनेका छन्। हिजो अपराह्न ४ बजेदेखि अवरुद्ध भएको विद्युत सेवा आज बिहान समाचार तयार पार्दासम्म (बिहान ८:१५ बजे) पनि सञ्चालनमा आउन सकेको छैन।
प्राविधिक समस्याका कारण एउटा फेसमा बत्ती आउने र अर्को फेसमा पूर्ण रूपमा बत्ती नहुँदा धैरेनी, मैनपोखरी, मनकापुर, लगायतका गाउँका सर्वसाधारणले रातभर सास्ती खेप्नु परेको छ।
कर्मचारीको आलटाल र गैरजिम्मेवारपन
विद्युत सेवा अवरुद्ध भएपछि समस्या समाधानका लागि स्थानीयवासीले ‘लाइट नो लाइट’ शाखामा पटक-पटक सम्पर्क गर्दा कर्मचारीहरूले गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिने गरेको पाइएको छ।
जोशीपुर ७ धेरेनीकी स्थानीय पार्वती बोहरा का अनुसार हिजो साँझ करिब ४ बजे नै विद्युत प्राविधिकहरूलाई समस्याबारे जानकारी गराइएको थियो। तर, कर्मचारीहरूले “हामी आउन सक्दैनौँ” भन्दै सिधै आउन अस्वीकार गरे। त्यसपछि अन्य स्थानीयहरूले फोन गर्दा पनि कर्मचारीहरूले कोही बिदामा बसेको, कोही घरमा भएको, र जनशक्ति (स्टाफ) को कमी भएको भन्दै पन्छिने काम मात्र गरे।
उपभोक्तामा आक्रोश
एउटै गाउँमा कुनै घरमा बत्ती हुने र कुनै घरमा नहुने (सिंगल फेस) समस्याका कारण विद्युतीय उपकरणहरू बिग्रिने जोखिम बढेको छ भने गर्मी र अन्धकारका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ।
१५ घण्टाभन्दा बढी समय बितिसक्दा र बिहानको ८:१५ बजिसक्दा समेत विद्युत मर्मतका लागि कुनै पनि प्राविधिक टोली घटनास्थल पुगेको छैन। अत्यावश्यक सेवा मानिने विद्युत कार्यालयको यस्तो ढिलासुस्ती र कर्मचारीहरूको गैरजिम्मेवार रवैयाप्रति स्थानीय जनता अत्यन्तै आक्रोशित बनेका छन्। उनीहरूले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गर्न र लापरबाही गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

