काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा सरदर स्थान आसपास रहेकाले वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा सामान्यतया बदली भएको छ। बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने महाशाखाले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

