देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर वर्षा हुने अवस्था बनेको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान, साथै कोशी र मधेस प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार पहाडी भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, कोशी र मधेस प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने, बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै वर्षाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवनमा समेत प्रभाव पार्न सक्ने भएकाले मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ।

