नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबीच नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
औषधि व्यवस्था विभाग, नेपालगञ्ज शाखा कार्यालयको आयोजनामा सोमबार नेपालगञ्जमा आयोजित कार्यक्रममा औषधिको सुरक्षित तथा जिम्मेवार प्रयोग, औषधि सेवा विस्तार, जनशक्ति व्यवस्थापन, नियमनको प्रभावकारिता तथा ग्रामीण क्षेत्रमा औषधिको पहुँचलगायत विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखा कार्यालयकी प्रमुख निनु श्रेष्ठले गर्नुभएको थियो भने बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी सशस्त्र प्रहरी बलका एसपी, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तथा नेपाल औषधि व्यवसायी संघ, नेपाल फार्मास्युटिकल एसोसिएसन, नेपाल आयुर्वेदिक संघ, नेपाल फार्मेसी संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल होमियोप्याथिक संघलगायतका प्रतिनिधिहरू विशिष्ट तथा अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बाँकेसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका फार्मासिस्ट तथा सहायक फार्मासिस्टहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै फार्मेसी अधिकृत धनबहादुर बोहराले औषधिको सुरक्षित र वैज्ञानिक प्रयोगलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले औषधि क्षेत्रका सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
छलफलका क्रममा सहभागीहरूले फार्मेसी क्षेत्रको सुधारका लागि संरचनागत तथा नीतिगत सुधार अपरिहार्य रहेको बताएका थिए। उनीहरूले हाल जिल्ला तहमा सीमित दरबन्दी तथा अपर्याप्त फार्मेसी जनशक्तिका कारण सेवा प्रवाहमा चुनौती देखिएको उल्लेख गर्दै वैज्ञानिक कार्यबोझ अध्ययन (वर्कलोड एनालाइसिस) का आधारमा फार्मेसी जनशक्तिको दरबन्दी पुनर्संरचना तथा विस्तार गर्नुपर्नेमा जोड दिए।
सहभागीहरूको तर्फबाट प्रस्तुत धारणा अनुसार अति दुर्गम तथा विकट क्षेत्रमा फार्मासिस्टको अनिवार्य उपस्थिति सुनिश्चित गर्न विशेष भत्ता, आवास सुविधा तथा वृत्तिविकाससँग सम्बन्धित स्पष्ट नीति आवश्यक रहेको औँल्याइयो। यस्ता प्रोत्साहनात्मक व्यवस्थाले दुर्गम क्षेत्रमा गुणस्तरीय औषधि सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरियो।
औषधि क्षेत्रको प्रभावकारी नियमनमा पनि कार्यक्रममा विशेष जोड दिइयो। सहभागीहरूले भेटेरिनरी तथा अन्य स्वास्थ्य विषय अध्ययन गरेका व्यक्तिहरूले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई औषधि पसल सञ्चालन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याए। औषधि व्यवस्था विभागले नियमनलाई थप प्रभावकारी बनाउँदै सबै औषधि पसललाई तोकिएको मापदण्डअनुसार दर्ता तथा सञ्चालनको दायरामा ल्याउनुपर्ने सुझाव समेत प्रस्तुत गरिएको थियो।
ग्रामीण तथा दुर्गम क्षेत्रमा सुरक्षित औषधि पहुँचको विषय उठाउँदै सहभागीहरूले मेडिकल तथा फार्मेसी सेवा नपुगेका बस्तीहरूमा सीमित प्रकारका आधारभूत औषधि मात्र वितरण गर्न सकिने विशेष व्यवस्था विकास गर्न सुझाव दिएका थिए। आवश्यक तालिम तथा मापदण्डको आधारमा यस्तो व्यवस्था लागू गर्न सके असुरक्षित औषधि बिक्री नियन्त्रण हुनुका साथै आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढ्ने धारणा व्यक्त गरिएको थियो।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले औषधिको भ्रामक प्रचारप्रसारले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने भएकाले यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले औषधिको प्रयोग चिकित्सकीय तथा वैज्ञानिक आधारमा हुनुपर्नेमा जोड दिँदै जनचेतना अभिवृद्धि र प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी औषधि व्यवसायी, फार्मासिस्ट तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले औषधिको दुरुपयोग नियन्त्रण, गुणस्तरीय औषधि सेवा प्रवाह तथा जनचेतना अभिवृद्धिका लागि सरकारी निकाय, स्वास्थ्य संस्था र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका थिए।
करिब ७० जनाको सहभागिता रहेको कार्यक्रम औषधि व्यवस्था विभागका नायब सुब्बा ताराप्रसाद अधिकारीले सञ्चालन गर्नुभएको थियो। विभागकी सूचना अधिकारी दीपा पौडेल तथा सह–संयोजक दीपेन्द्रकुमार साहसहित नेपालगञ्ज शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरूको सक्रिय समन्वयमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार औषधिको सुरक्षित, प्रभावकारी तथा वैज्ञानिक प्रयोगलाई प्रवर्द्धन गर्दै गुणस्तरीय फार्मेसी सेवा विस्तारका लागि यस्ता अन्तरक्रिया कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

