रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्ण अवस्थासँगै अस्तित्व संकटमा परेको छ। विक्रम सम्बत २०१६ (सन् १९५९) मा महाशिवरात्रिको अवसरमा श्रीमती रानी जगदम्बा कुमारी देवीले नेपाली तीर्थयात्रीहरूको सुविधा र विश्रामका लागि धर्मशालाको स्थापना गर्नुभएको थियो।

स्थापना कालदेखि नै यस धर्मशालाले रामेश्वरम आउने हजारौँ नेपाली भक्तजनलाई सस्तो र सहज आवास सुविधा प्रदान गर्दै आएको थियो। तर हालका वर्षहरूमा यसको भौतिक संरचना कमजोर, सरसफाइ अवस्था बिग्रिँदै गएको, र संरक्षणको अभावका कारण धर्मशालाको अवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।

यस ऐतिहासिक सम्पदाको जिर्णोद्वार र व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग पटक–पटक औपचारिक ध्यानाकर्षण गराइएको भए पनि अहिलेसम्म कुनै सन्तोषजनक प्रगति भएको छैन। समाजसेवी करन विष्टका अनुसार, नेपाल सरकार, भारतस्थित नेपाली दूतावास र अन्य सरोकारवाला संस्थाहरूबीच समन्वयको कमीले समस्या झन् गहिरिँदै गएको छ।
नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई जोड्ने यो धर्मशालाको पुनर्जीवनका लागि स्थानीय नेपाली समुदाय र विभिन्न सामाजिक संस्थाहरूले निरन्तर पहल र समन्वय गरिरहेका छन्। उनीहरूले नेपाल सरकार र सम्बन्धित निकायहरूलाई संरक्षण र पुनर्निर्माणमा ठोस कदम चाल्न आग्रह गरेका छन्।

