बझाङ, मष्टा —
दशैं–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा बझाङको मष्टा गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन (जिप)हरूले यात्रुहरूलाई थप मारमा पारेका छन्।
गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन (जिप) ले तोकिएको भन्दा धेरै भाडा असुलेको यात्रुहरूले गुनासो गरेका छन्। यसका साथै यात्रुलाई क्षमता भन्दा बढी चढाएर जोखिमपूर्ण यात्रामा धकेल्ने गरेका छन्।
गाउँपालिकाले सार्वजनिक गरेको सूचीअनुसार छोटो दुरीका लागि रु. २० देखि लामो दुरीका लागि रु. ६३० सम्म भाडा निर्धारण गरिएको छ। तर यात्रुहरूको भनाइमा चालकहरूले डुङ्री देखि घचाया सम्म रु. १०० भाडादर तोकिएको भए पनि रु. १५० देखि २०० सम्म असुल्ने गरेका छन्। यस्तै अन्य यस्तै अन्य थुप्रै ठाउँमा पनि तोकेको भन्दा बढी भाडा असुल्ने गरेको यात्रुहरूलाई दुःख दिने गरेको पाइएको छ। हेर्नुहोस गाउँपालिकाले तोकेको भाडादर :

भाडा बढी लिने मात्र होइन, जिपको छत र ढोकासम्म यात्रु भरिनेजस्तो ओभरलोड गर्ने प्रवृत्ति बढ्दै गएको छ। यात्रुहरूले गुनासो गर्दै भने, “भाडा त दोब्बर लिन्छन्, तर यात्रा सुरक्षित छैन। क्षमता भन्दा बढी मानिसलाई जबर्जस्ती चढाएर खतरामा राख्छन्।”
स्थानीयवासी र यात्रुहरूले तत्कालै अनुगमन गरी मनपरी भाडा असुल्ने र ओभरलोड यात्रु ढुवानी गर्ने जिप सञ्चालकलाई कारबाही गर्न माग गरेका छन्।

