काठमाडौँ- जेनजी आन्दोलनको भदौ २३ र २४ गतेको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट भागेका कैदीमध्ये ३ हजार ७ सय २३ जनालाई पक्राउ गरी पुनः कारागार पठाइएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार अझै १० हजार ३ सय २० कैदीबन्दी फरार रहेका छन्। उनले सर्वसाधारणलाई सतर्क रहन र फरारबारे कुनै सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरे।
घिमिरेका अनुसार केही कैदी भारत भाग्न खोज्दा त्यहाँको प्रहरीले समातेर फिर्ता पठाएको छ भने केहीलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन्। यस्तै, केही आफैं कारागार फर्किएका छन्।
प्रहरीका अनुसार त्यही आन्दोलनका क्रममा देशभरका प्रहरी हिरासतबाट समेत २३९९ थुनुवा फरार भएका थिए। तीमध्ये १३९ जनालाई पक्राउ गरिएको छ भने अझै करिब २१०० जना फरार छन्।
भदौ २४ गतेको तोडफोड, आगजनी र प्रदर्शनकै क्रममा ठूलो संख्यामा कैदी तथा थुनुवा भागेका थिए। प्रहरीले उनीहरूको खोजीलाई तीव्र पारेको जनाएको छ।

