काठमाडौँ- नेपालमा मनसुनको न्यूनचापीय रेखा हाल औसत स्थानभन्दा उत्तरतर्फ तराई क्षेत्रमा सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव कायम भए पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको महाशाखाको विश्लेषण छ।
बिहीबार बिहान देशको पहाडी भूभागमा सामान्य बदली रहँदा बाँकी क्षेत्र आंशिक बदली अवस्थामा छन्। बागमती प्रदेशका केही पहाडी भूभाग तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा र अन्य प्रदेशका केही भागमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
रातिको समयसम्म देशभर सामान्य बदली रहनेछ। मधेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा र अन्य प्रदेशका केही भूभागमा पनि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान समेत गरिएको छ।

