काठमाडौं— हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश स्थानमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही, बागमती र लुम्बिनी प्रदेशका थोरै, तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात सम्भावित रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा हावाहुरीको सम्भावनासमेत रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

