कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुत्न गएकी महिलाको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले सबै वडालाई तत्काल गोठ भत्काउन निर्देशन दिएको छ ।
शुक्रबार राति कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाई (आउजी) लाई महिनावारीको समयमा घरको आँगनमै बनाइएको गोठमा सुतिरहेको बेला सर्पले डसेको थियो। बायाँ गालामा सर्पले टोकिएपछि उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको थियो। तर, उपचारका क्रममा शनिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनापछि कृष्णपुर नगरपालिकाले १५ दिनभित्र वडाभित्र रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार, तोकिएको समयभित्र गोठ नहटाउने व्यक्तिलाई दश हजार रुपैयाँ जरिवाना गरिनेछ।
मुलुकी अपराध संहिता २०७४ मा महिला रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न नपाइने स्पष्ट प्रावधान छ। यस्तो कार्यमा संलग्न व्यक्तिलाई तीन महिनासम्म कैद वा जरिवानाको व्यवस्था गरिएको छ।
नगरपालिकाले यस्तो सामाजिक कुप्रथाको अन्त्य गर्न स्थानीय तह, सुरक्षाकर्मी र नागरिक समाजको सक्रियता आवश्यक रहेको जनाएको छ।


