काठमाडौँ- आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा। यो दिन शिक्षादाता गुरुजनप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दै देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा मनाइने व्यास जयन्तीलाई नै गुरु पूर्णिमा मानिन्छ। वेदव्यासले वेद, उपनिषद्, अठार पुराणलगायत धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिमा महान योगदान दिएका विश्वास गरिन्छ।
यस अवसरमा शिष्यहरूले गुरुलाई श्रद्धापूर्वक सम्मानसहित मिष्ठान्न भोजन अर्पण गर्ने परम्परा रहिआएको छ। विद्यालय, धार्मिक संस्था तथा संघसंस्थामा शिक्षा र दीक्षा दिने गुरुप्रति आदर प्रकट गर्दै विविध कार्यक्रम आयोजना गरिँदैछ।
संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने गरिन्छ। तन्त्र र धर्मशास्त्रका अनुसार, अज्ञानरूपी अन्धकारलाई हटाई ज्ञानरूपी प्रकाश फैलाउने व्यक्तिलाई नै गुरु भनिन्छ।

