काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सामान्यतया उत्तरतिर अवस्थित छ।
यसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यीमध्ये एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ।
राति:
कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्चपहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का हिमपात हुन सक्नेछ।
महाशाखाले कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम प्रति सतर्क रहन अनुरोध गरेको छ।

