बझाङ —मानवतावादी दर्शनका प्रवर्तक तथा राष्ट्रिय विभूति राजा जयपृथ्वी बहादुर सिंहको जन्मजयन्तीको अवसरमा बझाङ सदरमुकाम चैनपुरमा निर्माण गरिएको नयाँ शालिक भदौ ७ गते भव्य कार्यक्रमका साथ उद्घाटन हुने भएको छ।
वि.सं. १९३४ भदौ ७ गते बझाङको विकट गाउँमा जन्मिएका राजा जयपृथ्वी बहादुर सिंहले नेपाली समाज र विश्वकै लागि मानवतावाद र शान्तिको सन्देश फैलाएका थिए। नेपाली न्याय, निष्पक्षता, स्वतन्त्रता र जनकल्याणमा समर्पित उहाँले आफ्नो राजसी सुविधा त्यागेर मानव कल्याण र शिक्षाको सेवा गरेका थिए।
नेपालमा साम्यवादी रचना अध्ययन गर्ने प्रथम व्यक्ति मानिने जयपृथ्वीले काठमाडौंमा स्थापना गरेको ‘सत्यवादी पाठशाला’ पछि बझाङमा सारेका थिए। त्यसबेला सत्यवादी स्कुल सुदूरपश्चिममै शिक्षा प्राप्त गर्ने प्रमुख केन्द्रको रूपमा चिनिन्थ्यो। उनले गाउँबस्तीमा शिक्षा, कागज उद्योग, घरेलु सिलाइ उद्योग स्थापना गरी आर्थिक आत्मनिर्भरता र चेतनाको बीउ रोपेका थिए।
मानवतावादलाई आफ्नो धर्म मानेका जयपृथ्वीले विश्व भ्रमण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाएका थिए। सन् १९३३ मा न्यूयोर्कमा भएको विश्व आस्था मैत्री सम्मेलनमा उहाँ विशेष आकर्षणको केन्द्र बन्नुभएको थियो।
बझाङको छविसपाथिभेरा गाउँपालिकाले विगतदेखि नै जयपृथ्वी पुरस्कार वितरण गर्दै आएको छ भने पछिल्लो समय छविसपाथिभेरा र चैनपुरमा विभिन्न शालिकहरू निर्माण भएका छन्। यस वर्ष भदौ ७ गते सदरमुकाम चैनपुरस्थित जिल्ला प्रशासन कार्यालय नजिकै निर्माण गरिएको भव्य शालिकको उद्घाटन गरी जयपृथ्वी जयन्ती भव्य रूपमा मनाइने कार्यक्रम रहेको छ।
स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार, राजा जयपृथ्वीको विचार र योगदानलाई उजागर गर्दै उहाँको नाममा बझाङमा थप संरचना र कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।
राष्ट्रिय विभूति जयपृथ्वीको योगदानले आज पनि नेपाली समाजलाई मानवता, सहिष्णुता र शान्तिको बाटोमा अघि बढ्न प्रेरणा दिइरहेको स्थानीयवासीको भनाइ छ।

