काठमाडौँ- देशभर हाल मनसुनी वायु सक्रिय रहेकाले विभिन्न प्रदेशमा वर्षाको सम्भावना उच्च देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा देशका धेरै भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था कायम रहेको छ।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली छ भने बाँकी भागहरूमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। विशेषतः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना पनि औंल्याइएको छ।
आज रातिको मौसमसम्बन्धी अनुमानअनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा, साथै कोशी, बागमती र लुम्बिनीका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
भारी वर्षासँगै पहिरो, बाढी र भूक्षयको जोखिम बढ्ने भएकाले महाशाखाले सबैलाई सतर्कता अपनाउन र पूर्व तयारी गर्न आग्रह गरेको छ। जोखिमयुक्त स्थानहरूमा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायहरूलाई सचेत गराइएको छ।

