बझाङ,– बझाङको दुर्गाथली गाउँपालिका वडा नं. २ मा वडा अध्यक्ष धनराज मिश्रले शैक्षिक सुधार र योजनाबद्ध विकासमा देखाएको सक्रियता अहिले जिल्लामै नमुना योग्य मानिएको छ । वडास्तरमा पहिलो पटक “वडा आयोजना बैंक” निर्माणदेखि लिएर विपन्न विद्यार्थीलाई सहयोग, शिक्षकको सम्मानसम्मका कार्यले मिश्रलाई जिल्लाभर प्रशंसा मिलिरहेको छ । त्यसैगरी, पालिका स्तरको कक्षा ८ को परीक्षामा दुर्गाथली–२ वडाबाट द्वितीय स्थान हासिल गर्ने विद्यार्थीलाई जनही रु. १०,००० दिने निर्णय वडा अध्यक्ष मिश्रले गरेका थिए ।
योजना अनुसार, यस वर्ष आफ्नो वडाका एक जना विद्यार्थी पालिकाभर द्वितीय स्थान हासिल गर्न सफल भएपछि उक्त विद्यार्थीलाई नगद रु. १०,००० पुरस्कारसहित विशेष सम्मान प्रदान गरिएको थियो ।

यो निर्णयले शिक्षा क्षेत्रमा प्रतिस्पर्धा, प्रेरणा र प्रोत्साहन दिन सघाउने सहभागीहरूको भनाइ छ ।
आज सम्पन्न शैक्षिक सुधार कार्यक्रममा वडाभित्रका चारवटै विद्यालयका आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई , पोशाक, शैक्षिक सामग्री र कपडा वितरण गरिएको थियो । विद्यार्थीहरूमा उत्साह देखिएको थियो भने अभिभावकहरूले वडा कार्यालयप्रति कृतज्ञता प्रकट गरेका थिए ।

कार्यक्रमकै अर्को खण्डमा शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । वडा नं २ का वडा सचिव तथा उत्कृष्ट कर्मचारी भिम बहादुर , मष्टा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज सोती, सोही विद्यालयका प्रधानाध्यापक धनराज जोशी, चार जना शिक्षक र एक जना कार्यालय सहयोगीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको हो ।

कार्यक्रममा अध्यक्ष मिश्रले शिक्षा क्षेत्रलाई समावेशी, गुणस्तरीय र योजनाबद्ध बनाउने प्रतिबद्धता जनाउँदै भने,
“हामीले दुर्गाथली–२ बाट यस्तो अभ्यास थालेका छौं, जुन अहिले बझाङका कुनै पनि वडाले गरेका छैनन् । वडाको पहिलो योजना बैंक यही हो, अब प्रत्येक विकास योजना तथ्य र आवश्यकता अनुसार तय हुनेछ ।”
योजना बैंक निर्माण गर्नु दुर्गाथली–२ को मात्र नभई बझाङ जिल्लाको इतिहासमै पहिलो पटक भएको प्रयास हो । यसमार्फत शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, महिला सशक्तीकरण लगायतका सबै क्षेत्रका योजना व्यवस्थित रूपमा संकलन, वर्गीकरण र कार्यान्वयन गरिनेछ ।
कार्यक्रममा वडा सदस्यहरू, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, महिला समूह, युवा क्लब तथा सामाजिक अभियन्ताहरूको उत्साहजनक उपस्थिति थियो । सहभागीहरूले वडा अध्यक्ष मिश्रको कार्यशैलीको खुलेर प्रशंसा गर्दै अन्य वडाहरूले पनि यस्ता कामबाट सिक्नुपर्ने बताएका थिए ।
दुर्गाथली–२ अब शैक्षिक सुधारको मात्र होइन, योजना निर्माण र कार्यान्वयनको नयाँ अभ्यासको सुरुवात गर्ने वडाका रूपमा जिल्लाभर चिनिन थालेको छ ।
वडा कार्यालयले निकट भविष्यमै डिजिटल शिक्षा प्रवर्द्धन, शिक्षक क्षमता अभिवृद्धि, बालमैत्री विद्यालय वातावरण निर्माण, र स्थानीय विकासमा युवाको सहभागिता वृद्धि गर्ने कार्यक्रमहरू सार्वजनिक गर्दै गएको छ ।

