बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज एक विशेष समारोहका साथ नयाँ एम्बुलेन्स र जेसिभी (JCB) को पूजा तथा उद्घाटन सम्पन्न गरिएको छ। गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले यी दुई महत्वपूर्ण सवारी साधन सञ्चालनमा ल्याएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। विधिपूर्वक पूजापाठ गरी एम्बुलेन्सलाई स्वास्थ्य सेवा तथा जेसिभीलाई भौतिक पूर्वाधार निर्माणका लागि सञ्चालनमा ल्याइएको घोषणा गरियो।
गाउँपालिका अध्यक्ष दिल बहादुर रावत ले कार्यक्रममा बोल्दै भने, “हामी गाउँपालिकालाई आत्मनिर्भर, सुव्यवस्थित र सेवा–मुखी बनाउन लागि परेका छौं। आजबाट सञ्चालनमा ल्याइएको एम्बुलेन्सले दुर्गम बस्तीका नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवामा सहज पहुँच दिनेछ भने जेसिभीले स्थानीय विकास निर्माण कार्यलाई गति दिनेछ।”
त्यस्तै, गाउँपालिका उपाध्यक्ष बिशु देवि नाथ ले भनिन्, “यो पहल हाम्रो योजनाबद्ध कामको एउटा हिस्सा हो। अब हाम्रा नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा लिन पहाड पार गर्नुपर्ने बाध्यता हट्नेछ। साथै, स्थानीय पूर्वाधार निर्माणमा पनि ठुलो सहजता आउनेछ। हामी समग्र गाउँपालिकालाई सेवा प्रवाहमा सक्षम बनाउन निरन्तर लागिरहेकै छौं।”
त्यस्तै नि.प्रमुख प्रशासकीय अधिकृत नन्द बहादुर रावत ले एम्बुलेन्स सेवा सञ्चालनसँगै आकस्मिक अवस्थामा बिरामीलाई तत्काल नजिकको स्वास्थ्य संस्था वा जिल्ला अस्पतालसम्म पुर्याउन सहज हुने विश्वास व्यक्त गरे। यस्तै, प्राविधिक शाखाका प्रतिनिधिहरूले जेसिभी प्रयोगबाट बाटो मर्मत, साना पूर्वाधार निर्माण, डोजर कार्य लगायतका सेवामा गुणस्तर र तीव्रता आउने बताए।
गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट एम्बुलेन्स तथा जेसिभी खरिद गरेको हो। समारोह अन्त्यपछि स्थानीयबासीहरूले गाउँपालिकाको यो पहललाई सराहना गरेका छन्।

