बाजुरा- बाजुराको बुढीगंगा नदीमा डुबेर एक युवकको ज्यान गएको छ। खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षीय गणेश नेपालीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
गणेश नेपाली विगत केही दिनदेखि त्रिवेणी नगरपालिका–८ स्थित त्रिवेणीधाममा पितृकार्यका लागि बसिरहेका थिए। पितृ आए भनेर वर्ष ३२ की अञ्जली नेपालीले नदीमा हाम फालेकी थिइन्। उनलाई बगाउँदै लगिरहेको देखेपछि बचाउन गएका गणेश नदीमै डुबेर ज्यान गुमाएका हुन्।
घटनामा वर्ष २७ का दीपक नेपाली र अञ्जली नेपाली गम्भीर घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ। गणेश नेपालीलाई उद्धार गरेर अछामको बयालपाटा अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
बाजुरामा देवीदेवता र पितृका नाममा भइरहेका अन्धविश्वासका घटनाहरूले चिन्ता बढाएका छन्। यसअघि पनि यस्तै विश्वासका कारण दुई जना धामी कर्णाली नदीमा बेपत्ता भएका थिए।

