धनगढी– सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र अछाम जिल्लामा गरिएको क्यान्सर स्क्रीनिङमा ६० महिलामा स्तन तथा पाठेघरको क्यान्सरको आशंका गरिएको छ। स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर क्यान्सर हस्पिटलले चैत २२ गते अछामको रामारोशन–३ मुजाबगरमा शिविर सञ्चालन गरेको थियो।
शिविरमा ४१० महिलाको पाठेघरको क्यान्सर जाँच गर्दा २५ जनामा र ५२० जनाको स्तन क्यान्सर स्क्रीनिङ गर्दा ३५ जनामा संक्रमणको आशंका देखिएको हस्पिटलकी प्रशासकीय अधिकृत राजमती गोसाइँले जानकारी दिइन्। अछाममा ११ र १२ वर्षीया दुई बालिका र डडेल्धुरामा १६ वर्षीया किशोरीमा समेत पाठेघरको क्यान्सरको आशंका गरिएको छ।
कुल २१ जनाको टोलीले शिविर सञ्चालन गरेको थियो। आशंका गरिएकाहरूलाई निःशुल्क औषधी वितरण गरिएको छ र विस्तृत परीक्षणका लागि अस्पतालले सिफारिससहित व्यवस्था मिलाउने जनाएको छ।
यसैबीच, शिविर सम्पन्न गरेर फर्किएको टोलीलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भेटी धन्यवाद ज्ञापन गरेका छन्। उनले पीडित महिलाको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

