गोदावरी, कैलाली – बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका निवासी ४५ वर्षीया गौरा गुरुधामीलाई २५३ ग्राम चरेससहित प्रहरीले पक्राउ गरेको छ। उनी हाल गोदावरी नगरपालिका–९ मा बस्दै आएकी थिइन्।
प्रहरी स्रोतका अनुसार, गुरुधामीलाई गोदावरीस्थित आफ्नै घरबाट चरेससहित पक्राउ गरिएको हो। लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी निरीक्षक योगेश खत्रीको टोली र लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यमा उनलाई पक्राउ गरिएको हो।
प्रहरी निरीक्षक खत्रीले भने– “हामी लागुऔषध कारोबार नियन्त्रणका लागि निरन्तर निगरानी गरिरहेका छौँ। स्थानीय समुदायको सहयोगले यस्ता घटनामा संलग्न व्यक्तिहरू पक्राउ गर्न सहज भएको छ। अवैध लागुऔषध कारोबारमा संलग्न जो कोहीलाई कानुनी कारबाही गरिनेछ।”
साथै, प्रहरी निरीक्षक खत्रीले “लागुऔषध अलिकति मात्र समातेको” भनेर जनमानसमा बुझाइ हुने गरेको बताउँदै, समातिएको थोरै मात्राले पनि समाजमा पार्ने दीर्घकालीन असरबारे सचेत हुनुपर्ने” बताएका छन्। “यदि त्यो थोरै मात्राले पनि ५०/१०० जना सेवनकर्तालाई रोक्न सकिन्छ भने, त्यो नै समाजमा घट्न सक्ने ठूला घटनाहरू कम गर्ने उपाय हो,” उनले थपे।
स्थानीयहरूका अनुसार, निरीक्षक खत्री वडा इन्चार्ज भएदेखि यस्ता अवैध गतिविधिहरूमा संलग्न व्यक्तिहरू बारम्बार पक्राउ परेका छन्, जसका कारण पछिल्लो समय लागुऔषध सम्बन्धी घटनाहरूमा गिरावट आएको छ।
प्रहरीका अनुसार, पछिल्लो समय लागुऔषध नियन्त्रण ब्युरो र वडा प्रहरी कार्यालयको सहकार्यमा समाजमा रहेको लागुऔषध सम्बन्धी समस्याको विरुद्धमा कडा अभियान चलाइँदै आएको छ।
हाल पक्राउ परेकी गुरुधामीमाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा लागुऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी अझ कडा बनाएको बताइएको छ।

