डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एउटा विद्यालय भवन निर्माणमा भएको लापरबाहीका विरुद्ध लेखिएको समाचारमा उल्टै विज्ञप्ति निकालेको छ । केही दिन अघि कामना टेलिभिजनले स्थलगत रिपोर्टिङ गर्दा सोही गाउँपालिका – ३ मा रहेको नवदुर्गा माध्यमिक विद्यालयमा निर्माणाधीन भवनमा चरम लापरबाही भेटिएको थियोे । सो लापरबाही र त्यहीँका स्थानीयको संवाद सहितको भिडियो कामना टेलिभिजनले प्रशारण समेत गरेको थियो ।
कामना टेलिभिजनले केही दिन अघि प्रशारण गरेको भिडियो :
भवन निर्माणका क्रममा कमसल सामाग्री प्रयोग गर्नुका साथै मापदण्ड विपरीत रहेको विद्यालयका प्रधानाध्यापक उमेश राज उप्रेतीले स्विकारेका थिए ।

यस्तै भवन अनुगमनको जिम्मा पाएका गाउँपालिका उपाध्यक्ष निर्मला कुमारी बोगटीले समेत कमजोरी बाहिर ल्याउनुको सट्टा लुकाउन खोजेको भेटिएको थियोे ।
उक्त भवन निर्माणको लागि विद्यालय व्यवस्थापन समितिले जिम्मा लगेको थियोे । तर विद्यालय व्यवस्थापन समितिसँग कुनैपनि सहकार्य नगरेर स्कुलको पदिय सचिव रहेका प्रधानाध्यापक उप्रेतीले मनोमानी ढंगले भवन बनाएको स्थानीयको आरोप छ ।
भवनमा झ्यालढोका मापदण्ड विपरीत भएको नवदुर्गा गाउँपालिकाका सब इन्जिनियर आशुतोष जोशीले समेत बताए ।भवन निर्माणमा चरम लापरबाही भएको कुरा कामना टेलिभिजनको रिपोर्टमा प्रष्ट रहेको र निर्माणमा संलग्न व्यक्तिले कमजोरी स्विकारे पनि गाउँपालिकाले भने उल्टै सञ्चारमाध्यम विरुद्ध विज्ञप्ति जारी गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद जोशीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा कमजोरी स्विकार गर्नुको सट्टा आफू सत्य भएको र सञ्चारमाध्यमलाई विभिन्न लाञ्छना लगाएइएको छ ।

स्थानीय सरकारले शिक्षा क्षेत्रका बेथिति, समस्याहरुलाई उजागर समाधान गर्नुको सट्टा राजनीतिक आडमा ढाकछोप गर्ने कार्य राम्रो नभएको अभिभावकहरुको भनाइ छ।
कामना टेलिभिजनले प्रशारण गरेको भिडियोको लिंक :

